भ्रष्टाचारको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ

0

काठमाडौं, जेठ १९ – भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन् । पदमा रहेका बेला राजस्व हिनामिना गरेको आरोपमा शर्मालाई कार्यालयबाटै शुक्रबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीमाथि एनसेलको स्वामित्व बिक्री हुँदा पुँजिगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको आरोप छ । यस्तै कर फछ्र्यौट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले २१ अर्व रुपैयाँ बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको आरोप पनि छ ।

शर्मा झण्डै तीन वर्षअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट आन्तरिक राजस्व विभागमा सरुवा भएका थिए । एनसेलको स्वामित्व बिक्री हुँदा पुँजिगत लाभकर उठाउन विभागले पहल नगरेको आरोप समेत लाग्ने गरेको छ । शर्मामाथि विभिन्न व्यक्तिले उजुरी दिएको र ती उजुरीमाथि प्रारम्भिक छानबिन गरी थप अनुसन्धानका लागि शर्मालाई नै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका शर्माले सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदा सुगम ग्यासको फुटरिङ काटेको विषयमा सुगम ग्यासका संचालक शिवप्रसाद घिमिरेलाई कारबाही नगरी उन्मुक्ति दिएका थिए ।

Share.

About Author

Leave A Reply